दिपायल । डोटीमा डेङ्गुका बिरामी बढ्दै गएपछि ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखाले सो अभियान सञ्चालन गरेका हुन् । डेङ्गुका बिरामीको सङ्ख्या बढ्दै गएका कारण त्यसको नियन्त्रणका लागि जोखिमयुुक्त ठाउँमा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालयका प्रमुुख रमेश मलासीले बताए ।
“लामखुुट्टेले पानी जमेको ठाउँमा लार्भा पार्ने गर्दछ, जसका कारण लामखुुट्टेको सङ्ख्यामा वृद्धि हुन्छ र जोखिम बढ्छ,” उनले भने, “त्यस्ता ठाउँको पहिचान गरी सरसफाइ गर्दा रोगको जोखिम घट्छ ।” लामखुट्टेको वासस्थान रहन सक्ने गाडीका पुराना टायर, ड्रम, गमला, खाल्टाखुल्टी, नालीमा जमेको पानी सरसफाइ गर्नाले रोगको जोखिम न्यूनीकरण हुने मलासीले बताए । “असोज र कात्तिकमा लामखुट्टेले पानी जमेको ठाउँमा लार्भा छाड्ने गरेको बताइन्छ ।
पानी जम्न नदिने, जमेको पानी घोप्ट्याउने, निकासी गर्ने, लार्भा खोज्ने र नष्ट गर्न जिल्लाभर उक्त अभियान सञ्चालन गरिएको हो ।





