धनगढी, वैशाख १ — ‘ॐ शिव गोरेक्ष’ को उद्घोषका साथ सुदूरपश्चिम फेरि एकपटक वैदिक चेतनाले गुञ्जिने तयारीमा छ। नयाँ वर्ष २०८२ को शुभारम्भमा वैदिक सनातन हिन्दू अधिराज्य र राजसंस्थाको पुनःस्थापनाको सन्देश बोकेर धनगढीमा मोटरसाइकल र्याली तथा कोणसभा कार्यक्रमको आयोजना गरिँदैछ।
सुदूरपश्चिम नागरिक आन्दोलन संघर्ष समितिको आयोजनामा हुने यो कार्यक्रम वैशाख ४ गते बिहीबार दिउँसो २ः३० बजेपछि सुरु हुनेछ। अतरीया चौकदेखि सुरु हुने मोटरसाइकल र्यालीधनगढी नगरको परिक्रमा गर्दै चौराहामा सम्पन्न कोणसभामा परिणत हुनेछ।
कार्यक्रमको मूल उद्देश्य वैदिक सनातन मूल्य–मान्यताको संरक्षण, राष्ट्रिय अस्मिता र गौरवशाली इतिहासको पुनरुत्थान हो। नयाँ वर्ष २०८२ लाई धर्म, संस्कार र राष्ट्रियताको सन्देशसहित स्मरणीय बनाउने प्रयासस्वरूप यो अभियान सुरु गरिएको आयोजक पक्षले जनाएको छ।
संपूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका शुभकामनासहित कार्यक्रममा सक्रिय सहभागिताका लागि समितिले हार्दिक आह्वान गरेको छ।





