बैतडी ।यतिबेला बैतडीलगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका किसानलाई गहुँ छर्ने चटारो छ ।
उच्च लेकाली क्षेत्रमा किसानले गहुँ छर्नेकार्य अन्तिमचरणमा पुर्याएका छन् भने बेँसी क्षेत्रमा मङ्सिर दोस्रो सातासम्म गहुँ छर्ने गरिएको छ ।
दोगडा केदार गाउँपालिका– ३ का नारद भट्टले किसानलाई हाल गहुँ छर्ने चटारो रहेको बताए ।
लेकाली क्षेत्रमा पछि चिसो बढ्ने भएकाले कात्तिक पहिलो सातादेखि नै गहुँ छर्ने गरिएको किसानले बताएका छन् ।
कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख घनश्याम चौधरीले कात्तिक पहिलो सातादेखि नै गहुँ छर्ने कार्य सुरु भएको र लेकाली क्षेत्रमा लगभग गहुँ छर्ने कार्य सकिन लागेको बताए ।
बैतडीमा डब्लु के १२०४ जातको गहुँको बीउ बढी प्रयोग भइरहेको छ । बैतडीमा १५ हजार चार सय हेक्टर क्षेत्रफमा गहुँखेती गरिने भए पनि आधाभन्दा बढी क्षेत्रमा सिँचाइको अभाव छ । रासस





