काठमाडौं ।नुवाकोटमा बुधबार भएको हेलिकप्टर दुर्घटनाको छानबिनका लागि सरकारले समिति गठन गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा तीन सदस्यीय चाँजबुझ आयोग गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन् ।
आयोगको सदस्यमा विष्णु बस्नेत र तनुजा पोखरेल रहेका छन् । आयोगलाई ३० दिनको समय दिएको सञ्चारमन्त्री गुरुङले जानकारी दिएका छन् ।
बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तीन मिनेटमै एयर डाइनेस्टीको हिलकोप्टर नुवाकोटमा दुर्घटना हुँदा पाइलट अरुण मल्लसहित पाँच जनाको मृत्यु भएको थियो । अन्य चार जना चिनियाँ नागरिक थिए ।
हेलिकप्टर दुर्घटनामा परी मृत्यु हुनेमा चार पुरुष र एक महिला छन् । जसमा नेपाली नागरिक क्याप्टेन अरुण मल्ल, चिनिया नागरिक ताङ जुताओ, उ यियाओ (महिला), लि जिइ र झी जेमिङ रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।





