धनगढी – हिजो शुक्रबार साउन ३० गते कैलाली मोडेल सोसियल क्लब र कर्मा एब्रोड एजुकेसन कन्सल्टेन्सीको संयुक्त आयोजनामा “बसन्ती मेमोरियल अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता २०८२” धनगढीको निर्माण व्यवसाय सङ्घ सभाहलमा भव्यतापूर्वक सम्पन्न भएको छ । कैलाली मोडेल माध्यमिक विद्यालयकी पूर्व शिक्षिका स्वर्गीय बसन्ती भट्टराई ज्यूको सम्झनामा कैलाली मोडेल सोसियल क्लबले यस प्रतियोगिताको आयोजना गरेको थियो ।
प्रतियोगितामा धनगढीका सातवटा विद्यालय एरिस्टो इङ्लिस बोर्डिङ स्कुल, सिटी स्कुल, त्रिभुवन माध्यमिक विद्यालय, वैशेषिका पाठशाला, नेपाल पुलिस स्कुल, गार्डनर इङ्लिस बोर्डिङ स्कुल, र कैलाली मोडेल माध्यमिक विद्यालयका टीमहरू उत्साहपूर्वक सहभागी भए। हरेक टिममा ३/३ जनाको सहभागीता थियो भने प्रत्येक टिममा एक जना छात्राको अनिवार्य सहभागीता थियो ।
प्रतियोगिता पासेबल, नन पासेबल, र्यापिड फायर, बजर, तस्बिर तथा अडियो जस्ता विभिन्न रोचक चरणमा सञ्चालन गरिएको थियो । यी सबै चरणमा सामान्य ज्ञान, समसामयिक विषय, रचनात्मक सोच र स्मरणशक्ति जाँच्ने चुनौतीपूर्ण प्रश्न प्रस्तुत गरिएका थिए ।
कर्मा एब्रोड एजुकेसन कन्सल्टेन्सीसँग सहकार्यमा भएको ” बसन्ती मेमोरियल हाजिर जवाफ प्रतियोगिता” मा प्रथम स्थान ल्याउन सफल एरिस्टो इङ्लिस बोर्डिङ स्कुलको टीमलाई रु. ५,००० नगद सहित प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ ।
द्वितीय स्थान ल्याउन सफल सिटी स्कुलको टीमलाई रु. ३,००० नगद सहित प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ ।
तृतीय स्थान ल्याउन सफल कैलाली मोडेल माध्यमिक विद्यालयको टीमलाई रु. २,००० नगद सहित प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ । साथै सम्पूर्ण सहभागीहरुलाई पनि सहभागीताको प्रमाणपत्र वितरण गरिएको थियो ।
कैलाली मोडेल परिवारले प्रतियोगितामा बिजयी हुन सफल कक्षा १० का विद्यार्थीहरूलाई आगामी वर्ष कक्षा ११ मा प्रिबुकिङद्वारा भर्ना हुँदा निम्न अनुसार छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ :
प्रथम स्थान: १००% छात्रवृत्ति
द्वितीय स्थान: ५०% छात्रवृत्ति
तृतीय स्थान: २५% छात्रवृत्ति
आयोजक कैलाली मोडल सोसियल क्लबको समितिले सबै सहभागी विद्यालय, विद्यार्थी, अतिथि र सहयोगी संस्थाहरूलाई धन्यवाद दिएको र भविष्यमा यस्ता शैक्षिक कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।









