धनगढी – सुदूरपश्चिम प्रदेशमा दसैं, तिहार र छठ पर्वका लागि सुरक्षा योजना बनाइएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशका नौवटै जिल्लामा लागू गर्नका लागि सुरक्षा योजना बनाइएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी रविन्द्र केसीका अनुसार सुरक्षा योजनाअन्तर्गत प्रदेशभर थप चार हजार प्रहरी परिचालन गरिने भएको छ ।
उनका अनुसार दसैं–तिहारमा हुने जुवा, तास र मदिरा सेवनलाई पनि नियन्त्रण गर्ने गरी रणनीति तयार गरिएको छ भने विगतका वर्षमा चाडपर्वको अवधिमा हुने आपराधिक गतिविधिलाई पनि विश्लेषण गरिएको छ ।
डीआईजी केसीले दसैं, तिहार र छठका लागि भारतबाट फर्किएका नागरिकको सुरक्षाका लागि पनि विशेष योजना तयार पारिएको बताए ।
प्रदेश प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजनामा सीमा सुरक्षा, चोरी–तस्करी, ठगी, लुटपाटको विषयमा समेत रणनीति तयार पारेको छ ।





