काठमाण्डौं –ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले कञ्चनपुरको टनकपुर ब्यारेजबाट नेपालतर्फ नहरमा पानी छोड्नका लागि भारतसँग आवश्यक पहल र समन्वय भइरहेको बताएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री समेत रहेका घिसिङले राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्देव टनकपुर ब्यारेजको आज बिहान निरीक्षण गरी नेपालतर्फ सिँचाइ सुविधाका लागि नहरमा पानी छोड्ने विषयमा भारतीय पक्षसँग निरन्तर छलफलका साथै पत्राचारसमेत भइरहेको उल्लेख गरे ।
कञ्चनपुरको सुक्खाग्रस्त झन्डै पाँच हजार हेक्टर जमिनमा तत्काल सिँचाइ सुविधा उपलब्ध गराउन नेपालतर्फ मुख्य नहर र शाखा नहर बनिसकेकाले भारतको तर्फबाट पानी छोड्ने निर्णय आउने उनले विश्वास व्यक्त गरे । नेपाल–भारतबीच एकीकृत महाकाली सन्धिअनुरुप नेपालले हिउँदयाममा तीन सय क्यूसेक र वर्षायाममा एक हजार क्यूसेक पानी पाउने व्यवस्था रहेको छ ।
यसअनुसार पानी उपयोग गरी सिँचाइ सुविधा उपलब्ध गराउन संरचना बनिसकेका छन् । झन्डै नौ अर्ब लगानी भइसक्दा पनि प्रतिफल पाउन नसकेको भन्दै स्थानीय रुपमा आलोचना हुने गरेको छ । पानी सञ्चालन नभएकाले निर्मित संरचना बिग्रिन थालेको आयोजनाले जनाएको छ ।
महाकाली सिँचाइ आयोजनामार्फत् सतह सिँचाइबाट २८ हजार, भूमिगत सिँचाइबाट ५ हजार गरी ३३ हजार हेक्टर क्षेत्रमा दिगो सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य रहेको छ । आयोजनाको कूल अनुमानित लागत ३५ अर्ब रुपैयाँ रहेको छ ।





