काठमाण्डौं – जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालका ७७ वटा मापन केन्द्रमा अति ठूलो वर्षा भएको छ ।
धेरैजसो मापन केन्द्रमा २ सय मिलिमिटर भन्दा धेरै वर्षा भएको छ । काठमाण्डौ उपत्यकामा अभिलेख राख्न थालेको वर्ष सन् १९७० पछिकै ठूलो वर्षा भएको छ ।
हिजो बिहान पौने ९ बजेदेखि आज बिहानसम्मको २४ घण्टामा काठमाण्डौ उपत्यकामा २ सय ३९ दशमलव ७ मिलिमिटर वर्षा मापन भएको छ ।
यो काठमाण्डौमा वर्षा मापनको अभिलेख राख्न थालेयताकै धेरै भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै पछिल्लो १२ घण्टामा चितवनको त्रिशूली कालीखोलामा २ सय ५० दशमलव ४ मिलिमिटर वर्षा मापन गरिएको छ ।
यस्तै तनहुँको बिमलनगरमा २ सय १० मिलिमिटर, सुनसरीको पुरानो चतरामा २ सय ४ मिलिमिटर, नवलपरासीको डण्डामा २ सय ११ मिलिमिटर, पाल्पाको अचर्लेमा २ सय ३८ मिलिमिटर, मकवानपुरको चिसापानी गढीमा २ सय मिलिमिटर र दामनमा २ सय २९ दशमलव २ मिलिमिटर वर्षा मापन गरिएको छ ।





