काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले दिवंगत ढुङ्गानाको सम्मानमा शोक सलामी अर्पण गरेको थियो । ढुङ्गानाको पार्थिव शरीरमा उनका छोराहरुले दागबत्ती दिए ।
पूर्वसभामुख ढुङ्गानाका सम्मानमा १७ तोपको सलामीसमेत दिइएको थियो । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।
पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्न सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, उपसभामुख इन्दिरा राना, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री, मन्त्री गण, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, सांसद तथा विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्ति तथा सर्वसाधारण आर्यघाट पुगेका थिए ।
अस्पतालमा निधन हुनासाथ ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शव गृहमा राखिएकामा आजै बिहान ज्ञानेश्वरस्थित सानो गौचरणमा ल्याइ उनीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । नेपाल सरकारले आजै उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । उनको योगदानको सम्मान गर्दै सरकारले सोमबार सार्वजनिक बिदासमेत दिएको छ ।
विसं २०४८ मा काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनी प्रतिनिधिसभाको सभामुख बनेका हुन् । नेपालको संसदीय व्यवस्था र प्रजातान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न उनको ठूलो योगदान छ । विसं २०४७ को संविधान निर्माणका लागि गठित आयोगको सदस्यसमेत रहेका ढुङगाना मुलुकमा अहिले देखिएको राजनीतिक अस्थिरताको अन्त्य गर्दै सङ्घीयतालाई सबल बनाउन वर्तमान संविधान संशोधनका लागि कानुनका ज्ञाता र राजनीतिक व्यक्तित्वसँग छलफल चलाउँदै आएका थिए । रासस





