काठमाडौं । नेपाली कांग्रेसका संस्थापक गणेशमान सिंहको २७ औँ स्मृति दिवस मनाइएको छ ।
दिवसको अवसरमा बुधबार बिहान शोभाभगवतीमा रहेको गणेशमान सिंहको शालिकमा माल्यार्पण गरिएको छ ।
सिंहका छोरासमेत रहेका उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय सिंहको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे ।
१९९७ सालदेखि नै राणा शासन अन्त्यका लागि प्रजा परिषद्को सदस्यका रुपमा सक्रिय रहेका सिंहलाई ०४६ सालको जनआन्दोलन पछि प्रधानमन्त्री बन्न आएको अस्वीकार गरेका थिए । विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो ।
काठमाडौँको खानदानी परिवारमा जन्मिएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।





