धनगढी । हिउँद र बर्खाको समयमा खाली भएका बाजुराका अधिकांश गाउँबस्ती अहिले भरिन थालेका छन् ।
रोजगारीका लागि भारत गएका युवा दसैँतिहार मनाउन गाउँ फर्किन थालेपछि हिउँदमा खाली भएका यहाँका गाउँबस्ती अहिले भरिन थालेका हुन् ।
रोजगारी गर्न हिउँदमा भारत गएर त्यहाँबाट केही कमाइ गरी दसैँतिहार मनाउन गाउँ आएको खप्तड छेडेदह गाउँपालिकाका–१ का रामबहादुर रोकायाले बताए ।
बाजुराका हिमाली, जगनाथ, स्वामीकार्तिक, बुढीनन्दा, बडीमालिका, गौमूल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह गाउँपालिकाका अधिकांश युवकयुवती रोजगारीकै लागि भारतका विभिन्न ठाउँमा जाने गरेका छन् ।
कात्तिक, मङ्सिरमा गहुँ र असारमा धान, कोदो लगाउने समयमा गाउँ आउने र त्यसपछि फेरि उनीहरू कामको खोजीमा नै भारतका विभिन्न ठाउँमा जाने गर्छन् ।





