टीकापुर । बेत वन भनेर पहिचान बनाएको टीकापुर-७ स्थित सती कर्णाली सामुदायिक वनमा कागती र डाले घाँसखेती सुरु गरिएको छ ।
वनले यस वर्ष एक सय ५० कागतीका र एक हजार डाले घाँस बकाइनो तथा आँपका बिरुवा रोपेको हो ।
कागतीखेतीबाट वनको आम्दानी हुने र डाले घाँसबाट उपभोक्तालाई पशुपालनमा सहज हुने भएपछि खेती सुरु गरिएको वनका अध्यक्ष जितराम चौधरीले बताए ।
दुई सय ५८ हेक्टर क्षेत्रफल भएको सती वनको करिब एक सय २० हेक्टरमा बेतखेती गरिएको छ । बाँकी रहेको जग्गालाई सदुपयोग गर्दै आयआर्जन गर्ने उद्देश्यले कागती र डाले घाँसखेती गर्न थालिएको उनले बताए ।
यस वर्ष काँचो बेत दुई हजार सात सय क्विन्टल सङ्कलन भएको वनका प्रमुख चौधरीले जानकारी दिए । उनका अनुसार उत्पादन भएकोमध्ये १० प्रतिशत वन उपभोक्तालाई, १० प्रतिशत जिल्लावासीलाई र ८० प्रतिशत बोलपत्र आह्वान गरी बिक्री गर्ने गरिएको छ । उपभोक्तालाई ५० र गैर उपभोक्तालाई ९० मा प्रतिकिलो बिक्री हुँदै आएको छ ।
वनको आम्दानीबाट सामाजिक क्षेत्रमा काम गरिँदै आइएको वनका पूर्वसचिव शेरबहादुर साउँदले बताए । शिक्षा, स्वास्थ्य, रोजगारी, विभिन्न सीपमूलक तालिमलगायत क्षेत्रमा लगानी गर्ने गरिएको उनले जानकारी दिए ।
सती सामुदायिक वनलाई व्यवस्थित गर्ने विषयमा उपभोक्ता एकजुट भएर काम गर्ने भएकाले नतिजामुखी उपलब्धि हासिल हुँदै आएको उनको भनाइ छ ।
अहिले पनि वार्षिक ४५ लाख बेतबाट आम्दानी हुने गरेको पूर्वसचिव साउँदले जानकारी गराए । वि.सं.२०४८ मा स्थानीयवासीले संरक्षण सुरु गरेपछि यो वन वि.सं.२०५१ मा दर्ता भएको थियो । सामुदायिक वनमा अहिले एक हजार बढी उपभोक्ता छन् । रासस




