धनगढी – धनगढीमा रहेको शारदा माध्यमिक विद्यालयले सुदूरपश्चिमको संस्कृति तथा परम्परा जोगाउँन परम्परागत सामान प्रदर्शन गरेको छ ।
धनगढी-२, बैयाबेहडीमा रहेको शारदा माविमा आज शुक्रबार साँस्कृतिक कार्यक्रम गर्दै सुदूरपश्चिमका विभिन्न परम्परागत वस्तु तथा खानाको प्रदर्शन गरेको हो ।
विद्यालयमा सुदूरपश्चिमका ९ जिल्लामा प्रयोग हुने विभिन्न सामानहरुको प्रदर्शन गरिएको प्रधानाध्यापक तेजबहादुर सिंहले बताएका छन् ।
परम्परागत पंचेबाजा, विभिन्न समुदायका खानाका परिकार, पोषाक, डोको, नाम्लो, सुप्पो, विभिन्न हातहतियार जस्ता सामानहरु प्रदर्शनीमा राखिएको प्रधानाध्यापक सिंहले बताए ।
परम्पराको संरक्षण, संकृतिको जगेर्ना तथा विद्यालयमा पढाई हुने पाठ्यक्रमा उल्लेखित विषयवस्तुलाई विद्यार्थीलाई बुझाउँन सहज होस भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको प्रधानाध्यापक सिंहले बताएका छन् ।
शारदा माध्यमिक विद्यालयले पछिल्लो समय शुक्रबारलाई विशेष बनाउन वृक्षारोपण, सरसफाई तथा विभिन्न कार्यक्रम गर्ने गरेको छ।
विद्यालयमा हाल सिटिइभिटी तथा प्लस टू का विभिन्न संकायमा भर्ना खुलेको छ ।





