धनगढी – धनगढी उपमहानगरपालिकाले छिमेकी स्थानीय तहमासमेत शव चिस्यान सेवा दिने भएको छ।
गत मंसिरबाट उपमहानगरपालिका क्षेत्रमा शव चिस्यान सेवा दिन थालिएकोमा अबदेखि धनगढीसँग सिमाना जोडिएका स्थानीय तहमा समेत शव चिस्यान सेवा प्रदान गरिने भएको हो।
उपमहानगरपालिकाले धनगढीसँग सिमाना जोडिएका पालिका बाहेकका स्थानबाटसमेत माग आए सहयोग पुगाउन सकियोस् भनेर शव चिस्यान यन्त्र थपेको जनाएको छ।
छिमेकी स्थानीय तहमासमेत सेवा प्रदान गर्न उपमहानगरले बिहिवार थप दुईवटा शव चिस्यान यन्त्र खरिद गरेको छ। दुई यन्त्र थप भएसँगै शव चिस्यान यन्त्रको सङ्ख्या पाँच पुगेको छ।
धनगढी उपमहानगरपालिकासँग सिमाना जोडिएका गोदावारी नगरपालिका, गौरीगङ्गा नगरपालिका र कैलारी गाउँपालिकामा बसोबास गर्ने नागरिकले समेत शव चिस्यान सेवा पाउने नगर प्रमुख गोपाल हमालले बताए।
नगर प्रमुख हमालले कञ्चनपुरको कृष्णपुर र पुनर्वास नगरपालिकामा पनि शव चिस्यान सेवा दिने बताए। कैलाली र कञ्चनपुरका ५ स्थानीय तहका नागरिकलेसमेत सेवा पाउने भएका हुन्।





