धनगढी ।सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य एवम् पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा नियुक्त हुने सम्भावना बढेको छ ।
नेपाली कांग्रेस संसदीय दलले औपचारिक निर्णय गर्न बाँकी रहे पनि मुख्यमन्त्रीमा उनको सम्भावना बढी रहेको जनाइएको छ ।
यस विषयमा भोलि (शुक्रबार) दिउँसो २ बजे दलको बस्ने बैठकले अन्तिम टुङ्गो लगाउने नेपाली कांग्रेसका प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले बताएका छन् ।
सङ्घमा सत्ता साझेदारीमा भएको फेरबदलसँगै सुदूरपश्चिम प्रदेश पनि नयाँ सरकार गठनको बाटोमा अगाडि बढ्दैछ । नेकपा (एमाले)ले साथ छोडेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबारै प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । अल्पमतमा परेको देखिएका उनले विश्वासको मत पाउन नसकेमा भोलिबाट स्वतः सरकार ढल्नेछ ।
नेपाली कांग्रेस र नेकपा (एमाले) बिच यो प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसबाट बनाउने सहमति भएको छ । पूर्व मुख्यमन्त्री कमलबहादुर शाहसहित नेपाली कांग्रेसका चार जना मुख्यमन्त्रीको दौडमा रहेका छन् । पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, कञ्चनपुरबाट निर्वाचित प्रदेश सभा सदस्य बहादुरसिंह थापा र कञ्चनपुरबाटै निर्वाचित दिवानसिंह विष्ट मुख्यमन्त्रीको आकाङ्क्षी रहेका छन् ।





