कञ्चनपुर ।पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारततर्फ जाने तेस्रो मुलुकका विदेशी पर्यटकले निर्वाधरुपमा जान पाउने भएका छन् ।
भारतीय अध्यागमन कार्यालयले लामो समयदेखि विदेशी पर्यटकका लागि बन्द गरेको आगमन पुनः खुला गरेको छ ।
अध्यागमन कार्यालय गड्डाचौकीका निमित्त कार्यालय प्रमुख पदमराज भट्टका अनुसार भारतीय पक्षले यही साउन १५ गतेदेखि विदेशी पर्यटकको आगमनका लागि प्रस्थान (डिपार्चर) खुला गरेको छ ।
१० डिसेम्बर २०२१ देखि भारतीय सीमावर्ती बनबसा अध्यागमन(इमिग्रेसन) कार्यालयले विदेशी पर्यटकको आगमन बन्द गरेको थियो ।
कोराना महामारीका बेला नेपालका केही सीमा नाका मात्रै भारततर्फ जाने पर्यटकका लागि भारतले खुला गरेको थियो । गड्डाचौकी नाका भएर जाने विदेशी पर्यटकलाई भारतले रोक लगाएको थियो । केन्द्रबाटै केही सीमा नाका मात्रै भारत तर्फ जाने विदेशी पर्यटकका लागि खुला गर्ने निर्णयअनुसार त्यस बेलादेखि रोकिएको उनको भनाइ छ । विदेशी पर्यटकका लागि सीमा नाका खुला गरिएकाले पर्यटकलाई पठाउनका लागि भारतीय अध्यागमन कार्यालयले जानकारी दिएको कार्यालय प्रमुख भट्टले बताए ।
भारत हुँदै नेपाल प्रवेश गर्ने पर्यटकका लागि भने सीमा नाका खुला रहेको थियो । भारतीय अध्यागमन कार्यालयबाट विदेशी पर्यटकलाई प्रवेश दिएसँगै पर्यटकलाई प्रस्थान अनुमति दिन सुरु गरिएको छ । रासस





