काठमाडौँ ।सौर्य एयरको जहाज दुर्घटनाबाट मृत्यु भएका १८ जनाको शवको पोस्टमार्टम सुरु भएको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक मेडिसिन विभागमका प्रमुख डा. गोपाल चौधरीले मृत्यु भएकाको पोस्टमार्टम सुरु गरिसकेको जानकारी दिए ।
पोस्टमार्टमको लागि पाटन अस्पताल, भक्तपुर लगायत सबै ठाउँबाट फरेन्सिक विज्ञ बोलाइसकेको डा. चौधरीले बताए ।
सबै शवको पोस्टमार्टम गरेर रिपोर्ट तयार गरेर आफन्तलाई शव जिम्मा लगाउन तीन दिन समय लाग्न सक्ने उनले जानकारी दिए ।
उनी भन्छन्, “मृतकका आफन्त र सौर्य एयरलाइन्सले दिएको जानकारी र पोस्टमार्टमबाट आएको म्याच गरेपछि मात्र आफन्तलाई शव जिम्मा लगाउने हो।एउटा शवको पोस्टमार्ट गर्न चार घण्टा लाग्छ त्यस्तै १८ वटा शवको पोस्टमार्टम गर्न ७२ घण्टा लाग्ने अनुमान गरेका छौँ।त्यो हिसाबले सबैको रिपोर्ट आउन तीन दिन लाग्न सक्छ ।”
उनका अनुसार फिंगर प्रिन्ट, दाँतबाट मात्र पत्ता लगाउन सकियो भने रिपोर्ट आउन तीन दिन लाग्छ। यदि डिएनए म्याच गर्न परेमा रिपोर्ट आउन एक हप्ता लाग्नसक्ने उनको भनाइ छ ।
बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन विमानस्थलबाट पोखरा जान लागेको सौर्य एयरको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको हो। एक जना घाइते हुनुभएको छ।घाइतेको सिनामंगलस्थित केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको छ।





