धनगढी –पूर्वक्रिकेटर गौतम गम्भीर भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक बनेका छन् ।
भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)का सचिव जय शाहले मंगलबार सोयल मिडियाबाट गम्भीरलाई मुख्य प्रशिक्षक बनाएको जानकारी दिएका छन् ।
४२ वर्षीय गम्भीरले तीन वर्षसम्म एकदिवसीय, टेस्ट तथा टी–२० का मुख्य प्रशिक्षकका रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।
भारतले गत साता आइसिसी टी–२० विश्वकप जितेपछि मुख्य प्रशिक्षक राहुल द्रविडको कार्यकाल सकिएको थियो । भिभिएस लक्ष्मणले मुख्य प्रशिक्षकमा चासो नदेखाएपछि गम्भीरले जिम्मेवारी पाएका हुन् ।
द्रविडको कार्यकाल सकिएको एक सातापछि नै बिसिसिआईले नयाँ मुख्य प्रशिक्षक चयन गरेको हो ।
गम्भीरले डेढ महिनाअगाडि मेन्टरका रूपमा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को उपाधि कोलकाता नाइट राइडर्सलाइ दिलाएका थिए ।
यसैगरी, उनले मेन्टरकै रूपमा लखनउ सुपर जायन्ट्सलाई दुईपटक आइपिएलको प्ले–अफसम्म पुर्याएका थिए ।





