धनगढी ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धार्मिक आस्था र पर्यटनको दृष्टिकोणले बडिमालिका भू–स्वर्ग रहेको बताएका छन्।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको गत आर्थिक वर्ष २०८१ ८२ को वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
उनले बडिमालिकाको दर्शन गर्न गएका दुई जनाको दुःखद निधन भएकोप्रति दुःख व्यक्त गरेका छन्। मुख्यमन्त्री शाहले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार भएको धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकासम्मको आवागमन सहज बनाउन आवश्यक रहेको बताए।
उनले यसै वर्षभित्र काम सम्पन्न गर्ने गरी प्राविधिक टोली खटाउन मन्त्रालयलाई निर्देशन दिएका छन्।
यसैगरी, मुख्यमन्त्री शाहले वन क्षेत्रबाट सङ्कलित काठ बिक्री गर्न वन पैदावार बोलपत्र आह्वान गरी लिलाम गर्नुपर्ने र मन्त्रालयले कुनै पनि काम टेण्डरमार्फत गर्नुपर्ने बताए। प्रदेशको वनक्षेत्रमा करोडौंका काठ कुहिएर खेर गइरहेका छन् ।





