काठमाण्डौँ :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ हुँदैछ ।
लामिछानेले पत्नी निकिता पौडेलमार्फत बैशाख ७ गते दायर गरेको रिटमा सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा पेसी तोकिएको हो । यसअघि ६ पटकसम्म हेर्न नमिल्ने सूचीमा परेपछि आज भने नमिल्ने न्यायाधीशकोमा नपर्ने गरी लामिछानेको पेसी तोकिएको छ ।
यसअघि आइतबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले हेर्न मिल्ने इजलासमा पेसी तोक्न सर्वोच्च प्रशासनका नाममा आदेश गरेको थियो ।
सोमबार सोहीअनुसार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा पेसी तोकिएको थियो । तर लामिछानेका तर्फबाट बहस गर्ने वकिल प्रधानन्यायाधीश र पूर्वडीआईजी जोशीका तर्फबाट बहस गर्ने वकिल न्यायाधीश पाण्डेयका नातेदार परेपछि हेर्न नमिल्ने भएको थियो ।
जिल्ला अदालत रुपन्देहीको आदेशअनुसार १ करोड धरौटीमा रिहा भएका लामिछानेलाई चैत २२ गते उच्च अदालतले पुनः थुनामै पठाएपछि हाल उनी रुपन्देही कारागारमा छन् ।





