एउटा सहरमा एकजना ठूला व्यापारी थिए। कुनैबेला प्रशस्त धन, दौलतले भरिपूर्ण उनको झोली देशको अर्थतन्त्रमा आएको मन्दीका कारण खाली हुन पुग्यो।
एकाएक छाक टार्न मुस्किल भयो। व्यापार झन् झन् खस्किँदै गयो। हिजो प्रशस्त धन हुँदा खान, लाउन मज्जाले पुगिरहन्थ्यो। मनचाहा वस्तुहरूको साथ रहिरहन्थ्यो। आभूषण तथा वस्त्रहरू मनपरेको लाउन सक्ने, किन्न सक्ने क्षमता अद्भुत थियो। सबै आफन्त थिए, होटलमा जाँदा बिना कुनै सङ्कोच इच्छाएको भोजन ग्रहण गर्न पाइन्थ्यो। साथीभाइ इष्टमित्र झुम्मिरहन्थे वरिपरि।
जिन्दगी जे होस्, आनन्दले भरिपूर्ण थियो। तर, एकाएक आएको मन्दीले उसको जीवन नै तहस नहस भयो। हिजो देखिएका वस्तु, आभूषण वस्त्रादि विलासी वस्तुहरू सबै बेसिन थाले। ऋणको भार थपिँदै गयो, यता श्रीमतीको किचकिच, छोराछोरीको आवश्यकता एकतिर, आफ्नो बानीअर्कोतिर, सोच्दा सोच्दै पिल्सिरहन्छ।
आफ्ना हर एक चाहनाको कटौती गर्दै आफ्नाहरूको लागि जोहो गर्ने प्रयास गरिरहन्छ। तर, पनि अवस्था प्रतिकूल बन्दै जान्छ। सम्हाल्न गाह्रो हुन्छ, सोच्न नसकिने अवस्थामा पुग्छ। सबैसँग हात फैलाउँछ, गिडगिडाउँछ तर पनि कुनै डेग चलेन। हिजोका आफन्तहरू सबैले ठुक्र्याए अनि घरकाले पनि आफ्नै मात्र स्वार्थ राखेपछि दुखित हुँदै जान्छ कोठामा ऊ।
(कोठामा)
श्रीमतीलाई आभूषण दिलाउनुपर्ने, छोरालाई शिक्षा दिलाउनुपर्ने, छोरीलाई एमबिबिएस पठाउनुपर्ने। विचारा आमा-बालाई खुसी राख्नुपर्ने, औषधि उपचार गर्नुपर्ने बेला आफू निरीह भएर बसेको देख्दा दिक्क लाग्छ, धिक्कार छ उसले आफूलाई।
आफ्ना भनेर साथ निभाइरहेकाहरूलाई सम्पर्क गर्न खोज्छ कसैले उसको कुरा सुन्नेसम्म फुर्सद मिलाउँदैनन्। सोच्दा सोच्दै निदाउन खोज्छ, न त निन्द्रा नै लाग्छ न कुनै ठोस निर्णय। बन्द गरेर सुत्ने प्रयास गर्छ।।
(सपनामा)
आफू निरीह हुँदा श्रीमतीले गरेको व्यवहार, छोराछोरीको ताण्डव र समाजले अपहेलना गरेको सपना देख्छ। सबैको अपहेलनाको कारुणिक दृश्य देखेर रुन खोज्छ तर आँसु आउँदैन, रोदन फुट्दैन किनकि ऊ पुरुष हो। मनभित्र भक्कानिन्छ, पीडामा पिल्सिन्छ। विचाराको सोच्ने क्षमताले काम गर्दैन र आफूलाई एउटा डोरीको सहायताले गुमनाम बनाउँछ।
भोलि बिहानै उसको लास बाहिर निकालिन्छ। बेचारा छोराछोरीहरू रुन थाल्छन्, श्रीमतीका कारुना सुरु हुन्छ र समाजले कायर रहेछ भन्दै उसको लासलाई धिक्कार छन्।
(धत् तेरिका यो समाज!)
लेखक : नवराज जोशी, धनगढी





