कञ्चनपुर – नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए)को २५ औँ वार्षीक साधारण सभा सम्पन्न भएको छ।
शुक्रबार एनएनएसडब्ल्यूए केन्द्रीय कार्यालयमा संस्थाको वार्षीक साधारण सभा सम्पन्न भएको हो।
संस्थाका अध्यक्ष मायादेवी सार्कीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका उप-कुलपति प्रोफेसर डा. हेमराज पन्त रहेका थिउ ।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले एनएनएसडब्ल्यूएले विगत ३५ वर्षदेखि ‘थ्री डी’ अर्थात् जातीय विभेदमा पारिएका समुदाय, अपाङ्गता भएका व्यक्तिहरू र पछाडी परिएका समुदायहरू, आरक्ष पीडित, मुक्तकमलरी, महिला, बालबालिका, प्राकृतिक विपदमा परेका समुदाय, एचआईभी संक्रमित र कुष्ठरोग प्रभावित व्यक्तिहरूका लागि विकासमूखी कार्य गर्दै आएको बताएका छन् ।
उनले सभ्य समाज निर्माण गर्न आवश्यक रहेको बताउँदै हाल संस्थाले विभिन्न परियोजनाहरूमार्फत् यी क्षेत्रमा विकासमूखी कार्य गरि समाज रूपान्तरणमा नेतृत्वदायी भूमिका खेलेको बताए ।
साथै उनले संस्था नयाँ रणनीतिका साथ अगाडी बढ्ने योजनामा रहेको, संस्थाले आर्थिक पारदर्शीतालाई ध्यानमा राखि हरेक क्रियाकलापहरू डिजिटल रूपमा गरिरहेको, समतामुलक समाज निर्माणका लागि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार सँगै शैक्षिक क्षेत्रको सहयोग अपरिहार्य रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका उप–कुलपति प्रोफेसर डा. हेमराज पन्तले शिक्षा, स्वास्थ्य, वातावरण, कृषि क्षेत्रमा संस्थाले गरेको कामको प्रशंसा गरेका छन् ।
उनले यी क्षेत्रहरू सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको पनि क्षेत्र भएकाले यस्ता कार्यक्रमहरूमा एनएनएसडब्ल्यूएसँग सम्झौता गरेर काम गर्नका लागि विश्वविद्यालय तयार रहेको बताए। डा. पन्तले संस्थाले विगत तीन दशकदेखि हरेक क्षेत्रमा पछाडी परेका समुदायको उत्थान गर्न काम गरिरहेको प्रति सराहना व्यक्त गर्दै आगामी दिनहरूमा संस्थाको थप प्रगतिको कामना गरेका छन्।
कार्यक्रममा संस्थाका महासचिव रूपा कौशल परियारले संस्थाको वार्षीक प्रगति प्रतिवेदन पेश गरेका थिए । त्यसैगरी कोषाध्यक्ष कबिता भट्टले आर्थिक वर्ष २०७८०/८१ को आय-व्यय सहितको वार्षिक बजेट विवरण प्रतिवेदन पेश गरेका थिए ।
कोषाध्यक्ष भट्टले १० वटा परियोजना, एनएनएसडब्ल्यूएको संस्थागत कोष तथा आउने सम्भावित परियोजनाहरू गरी चालु आर्थिक वर्ष २०८१र८२ लागि १६ करोड ८३ लाख, ३३ हजार ८९१ रूपैँया बराबरको अनुमानित बजेट प्रस्तुत गरे ।
साधारण सभाबाट संस्थाको वार्षीक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पारित भएको छ। त्यसैगरि सन् २०२३ मा निर्माण भएका तथा संशोधन भएका नीतिहरू साथै कार्य समितिले गरेका निर्णयहरूलाई अनुमोदन गरिएको छ।
संस्थाका सचिव सुरेश परियारले सञ्चालन गरेको कार्यक्रममा संस्थाका कर्मचारीहरूले संस्थाको परिकल्पना, ध्येय, लक्ष्य र उद्देश्य समेटी तयार पारिएको स्वागत गीत प्रस्तुत गरेका थिए। त्यसैगरी अध्यक्ष माया देवी सार्की र संस्थाका कार्यक्रम संयोजक राजकुमार सुनारले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा कार्यसम्पादनको उच्च मूल्याङ्क गर्दै कुष्ठरोग रोकथाम परियोजनाका कुष्ठरोग सुपरभाईजर मानबहादुर महरा संस्थाको सर्वोत्कृष्ट कर्मचारी २०२४ घोषित भएका छन् ।
त्यसैगरि रिमा खनाल, कृष्णराज भट्ट, लोकेन्द्र सिंह धामी, भीमबहादुर बुढा, लोकराज ओझा, समिक्षा खत्री गुरूङ्ग, गणेश सिंह ठगुन्ना, दिपक कुमार परियार, हेमा चौधरी परियोजना सर्वोत्कृष्ट कर्मचारीबाट सम्मानित भएका छन् । संस्थाले विपद व्यवस्थापन तथा मानवीय कार्यमा अतुनलीय योगदान पुऱ्याएको भन्दै उत्थानशील युवा सञ्जालबाट सिया बिक र ममता मगरलाई पनि सम्मानित गरेको छ ।
कार्यक्रममा कार्य समिति पदाधिकारी तथा सदस्यहरू, साधारण सदस्यहरू, संस्थाका कर्मचारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, पत्रकार साथै समाजसेवी तथा बुद्धिजीहरूको उपस्थिति रहेको थियो।






