धनगढी – सुदूरपश्चिममा खाद्यन्न आयात गरेर उपभोग गर्नुपर्ने बाध्यता कायमै छ ।
कृषि उत्पादनमा संघ, प्रदेश र स्थानीय सरकारले बजेट बढाएको दाबी गर्दै आए पनि खाद्यन्न आयात भने वर्षेनि बढ्दै गएको छ।
भारतबाट वर्षेनि ठूलो परिमाणमा खाद्यन्न आयात हुने गरेको छ। सुदूरपश्चिममा भारतबाट गहुँको आयात दोब्बरले बढेको छ। आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा गहुँको आयात दोब्बरले बढेको हो।
आर्थिक वर्ष २०७९/८० मा दुई हजार ३८३ टन गहुँ आयात भएकोमा २०८०/८१ मा ६ हजार ३७७ टन गहुँ आयात भएको छ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष तीन हजार ९९४ टन बढी गहुँ आयात गरिएको छ। जिल्ला भन्सार कार्यालय कैलालीका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार आर्थिक वर्ष २०७९/८० मा १० करोड ५० लाख रुपैयाँको गहुँ आयात भएको थियो।
आर्थिक वर्ष २०८०/८१ मा बढेर २६ करोड ३७ लाखको गहुँ आयात भएर एक करोड ३१ लाख राजस्व समेत असुली भएको छ।





