
मैले बहुत सोच्दा सोच्दै
दिन रात हप्ता महिना हुँदा हुँदै
वर्ष बिति सकेछ
थाहा छैन यस्ता कुरा
खुलेआम बताउँन मिल्छ कि मिल्दैन
हुन त मलाई लाजसरमले छोएको छैन
मैले संस्कार शब्दलाई आफूसम्म आउन दिएको छैन
त्यसैले आज म सुनाउँछु सबै कुरा विस्तारमा
म र मेरि आमा बारे
समयले यस्तो परिस्थिति खडा गरि दियो
जहाँ आमाले पीडा खेप्न नसकेर
जीवन त्याग्ने निर्णय लिन पुगिन
र गएर उभिन नदिको छेउ
तर सबै सोचे चाहे जस्तो नहुदो रहेछ
जिउदो हुँदा आँखा मा झल्किएको
पीडा नबुझ्ने समाज परिवारले
मृत्यु पछि दिने सहानुभूतिभन्दा
बाची रहदा दिइने घृणा स्वीकार गर्न तयार भइन
र बाची रहिन उज्यालो दिनमै
आँखा अगाडि चारै तिर
अध्यारो भएको दिन सम्झिदै
न्यायलाई पनि हात्तिले सहजै कुल्चिदो रहेछ
त्यसैले होला निर्दोष आँखा मा छल्किएका
आँसुको कुनै अर्थ छैन
अपराधी खुलेआम घुमिरहेछ
त्यसै कारण भनिएको होला कानुन अन्धो हुन्छ
अब त लाग्दैछ साच्चै कानुन अन्धो हुन्छ
त्यसैले त सहि गलत पहिल्याउन सक्दैन
निर्दोष जसले समाजसङ्ग राज्यसँग
न्यायको दिप निभेको देख्छ्न
र अन्त्यमा आफ्नै चलिरहेको सास बन्द गरि दिन्छन
निकै बलियो मुटु चाहिन्छ
निर्दोष भएर पनि दोषी झै व्यबहार सहेर बस्न
सबैले मुटु बलियो पार्न सक्दैनन र
बलियो गरि डोरि बाधी दिन्छन आफ्नै गलामा
यदि कानुन अन्धो नहुदो हो त
यस्ता घटना दोहोरी नरहदा हुन
आमाको मुटु सारै बलियो रहेछ क्यारे
समाज राज्य सबै सङ्ग लडेर बाचिरहिन
ओठमा सदैब मुस्कान छरेर
मानौ केही भएकै छैन
उनि जति खुशी कोहि छैन यो सृष्टिमा
दिउसै एक नारिमाथी
आठ दस पुरुष होमिएर
लुगा च्यातेर रक्ताम्य अर्ध लास
छोडेर जादा किन कसैका आँखा पुगेनन
किन सबैले आँखा कान मुख
यसरी बन्द गरे कि
मानौ एक अर्ध लासका अगाडि
सबै लास छन जसले कुनै चाल गर्न सक्दैनन
जब आमाले मलाई जन्माउने निधो गरिन
समाजले आमालाई एक नाम दियो
सुन्दा अलि अप्ठ्यारो लाग्ला तर सुन्नस
आमाको नाम नगरनायिका
हो यहि समाजले तोकि दिएको
एक नगरनायिकाको कोखबाट
यस सृष्टिमा आएको बालक हु म
बेला बेला बाको नामको खोजी भइ रहन्छ
मेरा ओठ बोल्दा बोल्दै एकाएक चुप हुन्छन
मनमा आधिहुरि मच्चिए झै हुन्छ
मस्तिष्क शून्य हुन्छ
खलखलि पसिना बग्न थाल्छ
बाको नामथर आकृति आमालाई समेत थाहा छैन
मैले सम्झन चाहेर पनि कसरी सम्झिन सक्थे र
आमाको कुरा अनुसार मैले सम्झिन्छु
मैले सम्झिन्छु मेरा बाको नामथर अनि आकृति
बाको आकृति अलि धमिलो भएर बसेको छ
मेरो मस्तिष्कमा तर नामथर भने छर्लङ्ग सम्झन्छु
बालाइ सम्झिन त पक्कै होइन
तर मैले बाको नामथर बाटै
आफुलाइ यो समाज अनि राज्यमा चिनाउन चाहे
ताकी थोरै परिवर्तन आउँछ कि
अन्धो कानुनको थोरै भएनि आँखा खुल्छन कि
निर्दोषहरुलाई पनि अब देखि जीवन प्रिय लाग्छ कि
दोषीहरुले अब त सजाए पाउछन कि
हात्तिको भारले कानुनलाई थिचोलिदैन कि
यति भनी रहदा खुलदुलि मच्चिएको होला
सबैको मनमा नाम थर के रहेछ
बोलिरहेको बालकको भनेर
मेरि आमाले मुटु बलियो पारेर
मृत्यु त्यागेर जीवन रोजेर
समाज राज्यका अगाडी एक्लै उभिएर
मलाई जन्म दिएर यहाँ सम्म पुर्याउदासम्म
उहाँले बलियो पारे झै होइन
त्यसको केही भाग मात्र पनि बलियो पारे हुन्छ
ल सुन्नुस मेरो नाम वीर्य थर पुरुष ।
सर्जक : कृष्टी जोशी, धनगढी




