धनगढी – कैलालीको धनगढीमा महिलालाई स्वरोजगार बनाउन ‘शनिवारे’ मेला लाग्ने भएको छ।
धनगढी उपमहानगरपालिकाले आगामी मंसिर १ गतेबाट प्रत्येक शनिवार महिला लक्षित मेलाको आयोजना गर्ने भएको हो।
धनगढी उपमहानगरपालिका–१ पार्क अगाडी शनिवार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म मेला लाग्ने भएको हो। यसका लागि ३५ वटा स्टल तयार गरिन लागेको छ। खानेपानी, विद्युत्, शौचालय, स्टल तथा टेन्ट, टेबुल, कुर्सी, स्वास्थ्यकर्मीको टोली लगायत व्यवस्थासमेत गरिन लागेको उपमहानगरपालिकाले जनाएको छ।
धनगढीमा स्थायी बसोबास गर्दै आएका महिलाहरूले आफ्नो सीप अनुसारका सामाग्री तथा बस्तु बिक्रीवितरण गर्न मेलाको आयोजना गरिन लागिएको नगरप्रमुख गोपाल हमालले बताए।
नगर प्रमुख हमालले महिलालाई उद्यमी बनाउने उद्देश्यले शनिबारे बजार सञ्चालनको तयारी गरेको बताए। यसका लागि परिचयपत्र बनाउनुपर्ने छ। अहिले धनगढीका महिलालाई प्राथमिकता दिने र विस्तारै अन्य पालिकाका महिलालाई पनि अवसर दिने नगरप्रमुख हमालले बताए।
उपमहानगरपालिकाले युवा लक्षित रात्रिकालीन बजार समेत सञ्चालन गर्ने भएको छ। धनगढीमा अध्ययनका लागि बसोबास गर्दै आएका युवाहरूका लागि साँझ ६ देखि राति १० बजेसम्म बजार सञ्चालन गर्न तयारी भइरहेको उपमहानगरपालिकाले जनाएको छ। पहिलो चरणमा महिला र दोस्रो चरणमा युवा लक्षित बजार सञ्चालन हुने नगरप्रमुख हमालले बताए।





