काठमाण्डौं – डेङ्गी रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले आज सिंहदरबारसहित विभिन्न सरकारी कार्यालयको परिसरमा सरसफाइ गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट लामखुट्टेको लार्भा मार्ने विशेष अभियानको शुरुआत भएको छ ।
डेङ्गी नियन्त्रणका लागि सरकारले शुरू गरेको देशव्यापी अभियानअन्तर्गत आज मुख्यसचिव एकनारायण अर्यालले कार्यक्रमको औपचारिक रूपमा शुरुआत गरेका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सिफारिशमा गरिएको अभियानले सरकारी कार्यालय मात्र नभई देशव्यापी रूपमा डेङ्गी नियन्त्रणमा सहयोग पुर्याउने अपेक्षा गरिएको मुख्यसचिव अर्यालले बताए ।
मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा कर्मचारीहरूले आज बिहान रुखका हाँगा काट्ने, फोहोर टिप्ने र लामखुट्टे नष्ट गर्ने ग्यास छर्नेलगायतका काम गरेका हुन् ।





