बझाङ – बझाङको जयपृथ्वी नगरपालिका–१ चिउरीका नवीन सिंह कलिलै उमेरमा अस्ताएका छन्।
रामपुर कृषि क्याम्पसमा कृषि विज्ञानमा स्नातक पढिरहेका उनको सपना कृषि विज्ञ बन्ने थियो। अन्तिम वर्षको पढाइ सकेपछि डोल्पा जिल्लामा ओजेटी गरेका नवीन त्यही रिपोर्ट बुझाउन क्याम्पस गएका थिए।
नवीनका आफन्त सुन्दर सिंहका अनुसार आइतबार साँझ उनी चढेको गाडी पहिरोमा पुरिएको हो। पढाइमा जेहेन्दार नवीन पूर्ण छात्रवृत्तिमा रामपुर क्याम्पसमा पढिरहेका थिए।
२५ वर्षीय नवीनको शव बुझ्न उनका बुवा नरेन्द्र सिंहलगायत आफन्तहरु काठमाडौं पुगेका छन्।





