काठमाडौं ।निरन्तरको भारी वर्षाका कारण हवाई उडान प्रभावित भएको छ ।
मौसममा आएको खराबीका कारण शुक्रबार साँझ ७ बजेदेखि स्थगित गरिएको आन्तरिकतर्फ उडान अहिलेसम्म खुलेको छैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आन्तरिक उडान अहिलेसम्म खुलेको छैन । अन्तर्राष्ट्रियतर्फको उडान भने सञ्चालन भइरहेको छ ।
आज बिहान जजिरा एयरको विमान काठमाडौं विमानस्थलमा अवतरण गर्यो भने फ्लाइ दुबईको विमान डाइभर्ट भएको छ । एयर अरेबियाको विमान भर्खरै अवतरण भएको छ ।
वर्षाका कारण भिजिबिलिटी कमजोर हुँदा शुक्रबार पनि आन्तरिकतर्फ धेरैजसो उडान रद्द भएको थियो । हिजो अन्तर्राष्ट्रियतर्फ दुई विमान ‘होल्ड’ हुनका साथै धेरै उडान डिले भएका थिए ।
‘इन रुट वेदर’ बिग्रिएकाले अन्तर्राष्ट्रिय उडानका विमानलाई पनि अवतरणमा कठिनाइ भएको थियो ।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले आन्तरिक उडान अहिलेसम्म कतै पनि नभएको बताए । “काठमाडौं विमानस्थल खुले पनि आन्तरिकतर्फ अहिलेसम्म कतै पनि उडान भएको छैन, मौसम र गन्तव्य हेरेर उडानको थप निर्णय हुन्छ”, उनले भने । रासस





