काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राजनीतिक परिवर्तन, सामाजिक रुपान्तरण र आर्थिक विकासमा नेपाली पत्रकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।
प्रेस काउन्सिल नेपालको ५५ औँ वार्षिकोत्सवका अवसरमा आइतवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
राष्ट्रपति पौडेलले आमसञ्चार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड भएको बताए । उनले भने, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रतिफल जनताको घर, आँंगनसम्म पुर्याउन शासन सञ्चालनमा बसेकालाई घच्घच्याएर लोकतन्त्रप्रति जनताको भरोसा अभिवृद्धि गर्ने काममा अझ जिम्मेवार भएर काम गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’
राष्ट्रपति पौडेलले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिताबिना लोकतन्त्र सुदृढ हुन नसक्ने भन्दै यही कारणले पत्रकारितालाई चौथो अङ्गका रुपमा सम्मान प्राप्त भएको बताएका छन् ।





