धनगढी – कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट दुई जनाको उद्धार गरिएको छ।
कृष्णपुर नगरपालिका गुलरिया बजारमा घुमफिर गरिरहेको भेटिएका पुस्कर सिंह र वडा नम्बर ७ मटैया कटान बस्ने विष्णादेवी बिष्टको उद्धार गरिएको हो।
मानसिक सन्तुलन गुमाएका सिंहलाई नग्न अवस्थामा नेपाल प्रहरी, वडा अध्यक्ष टेक पाण्डेय र स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि धनगढीको निसर्ग अस्पतालमा भर्ना गरिएको छ।
उपचार पश्चात् सिंहलाई आइतवार मानव सेवा आश्रम धनगढीमा राखिएको छ। यस्तै, मानसिक समस्या भएकी विष्णादेवी विष्टको कृष्णपुर नगरपालिकाको सहयोगमा आइतवार नै उद्वार गरिएको हो।
बिष्टलाई कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले आफ्नै गाडीमा राखेर धनगढी स्थित दृष्टि फाउन्डेसन संस्थामा पुगाएका हुन्। मानसिक समस्या भएकी बिष्ट उनकै श्रीमान नैनसिंह बिष्टको आग्रहमा उद्वार गरिएको नगर प्रमुख हेमराज ओझाले बताए। उनको उपचार निसर्ग अस्पतालमा हुने र स्याहार तथा रेखदेखका लागि दृष्टि फाउन्डेसनमा राखिएको नगर प्रमुख ओझाले बताए।
हालसम्म नगरपालिकाको सहयोग र समन्वयमा कृष्णपुरका १२ भन्दा बढी असहाय, मानसिक रोगी महिलाको उद्वार गरी पुनर्स्थापनाका लागि मानव सेवा आश्रम र दृष्टी फाउन्डेसन धनगढीमा राखिएको नगर प्रमुख ओझाले बताएका छन्। उनले दुबैजनाको उपचारमा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले व्यहोर्ने बताए।





