कविता : बा!
आज तिम्रो असाध्यै याद आयो बा!
कसरी पोखुँ र खै? बा!
तिमीले मेरा लागि बिताएका
अनिदा रातहरु बारे,
मलाई पेटभरि खुवाउन
तिमी भोकै बसेको बारे,
मलाई असल बनाउन
तिमीले घर छोडेको बारे।
के यसको बदलामा तिमीलाई
मैले केही दिन सकुँला र बा?
मैले दिन सक्ने त केबल
बुढेसकालसम्म साथ मात्रै हो बा
बुढेसकालको तिम्रो लठ्ठी बन्नेछु,
बिरामी पर्दा मलम पट्टी बन्नेछु,
शिरको टोपी बन्नेछु,
बिहान बेलुकाको रोटी बन्नेछु,
तिम्रो आँखाको आँसु नभई
ओठको मुस्कान बन्नेछु,
तिम्रो नाकमा सुगन्ध छरिरहने
पारिजातको फूल बन्नेछु,
गर्मीको सितल पवन बन्नेछु,
र जाडोको न्यानो कपडा बन्नेछु।
तिम्रो असाध्यै याद आयो बा!
तिमीले मलाई खडा गर्न बगाएका पसिनाका थोपाहरु सञ्चय गरेको भएको सायद सूर्य पनि रुझ्ने थियो बा
मैले संकलन गर्न सकिनँ बा
तिमीले पसिना बगाए फलस्वरूप
म हरियो बाली बनेर उम्रने छु,
ध्वनि ननिकाली पानी भएर बग्ने छु,
हिउँ जस्तो सुकिलो भएर उड्ने छु,
सितल पवन सरह बहने छु,
सगरमाथा जस्तो आकाश छुने छु,
नेपाल जस्तो सुन्दर बन्नेछु
र बसन्त बनेर फेरि जन्मने छु।
तिम्रो असाध्यै माया लाग्यो बा!
सर्जक : सुनिल बुढा (कछुवा)
खप्तड छेडेदह-५, डोगडी, बाजुरा





