धनगढी । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको चहलपहल बढेको छ ।
पर्यटन सिजन सुरु भएसँगै निकुञ्ज अवलोकन गर्ने स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढेको हो ।
फागुनदेखि जेठसम्म शुक्लाफाँटाको अवलोकन, भ्रमण गर्ने उपयुक्त समय मानिन्छ । सिजन चलेसंँगै निकुञ्ज भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा बढोत्तरी भएको निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।
पछिल्लो समय स्वदेशी तथा विदेशी पाहुना शुक्लाफाँटा घुमघामका लागि आइरहेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए ।
शुक्लाफाँटा दुर्लभ पाटेबाघ, एकसिङे गैँडासहित विभिन्न वन्यजन्तु अवलोकनका लागि प्रसिद्ध छ । निकुञ्जको फाँटमा देखिने बाह्रसिंगेको झुन्ड जोकोहीलाई पनि आकर्षित गर्ने गरेको छ । यसै गरी हिरापुर घाँसे मैदानमा रहेको कृष्णसारको बथानले पनि पर्यटक तान्ने गरेको छ । गोरखापत्रबाट





