काठमाण्डौँ : नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका रिट निवेदनको संयुक्त सुनुवाइ लगातार तेस्रो दिन आज (बिहीबार) पनि जारी रहने भएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा मंगलबारदेखि जारी बहस बुधबार पनि नसकिएपछि दुवै निवेदन हेर्दाहेर्दैमा राखिएको हो। जसअनुसार इजलासले आजका लागि पनि पेसी तोकेको छ।
कुलमानले आफ्नो पदावधि बाँकी छँदै सरकारले बदनियतपूर्वक कार्यकारी निर्देशकबाट हटाएको दाबी गर्दै थमौतीका लागि अन्तरिम आदेश माग गरेका छन्।
सरकारले यही चैत ११ गते कुलमानलाई हटाउँदै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको हो। कुलमानको पदावधि ४ महिना बाँकी थियो।
उता हितेन्द्रले कुलमानको नियुक्ति नै गलत भएको जिकिर गर्दै ४ वर्षअघि आफूले दायर गरेको रिटमा पहिले निर्णय हुनुपर्ने माग गरेका छन्।
बुधबार हितेन्द्रदेव शाक्यका तर्फबाट पूर्वमहान्यायाधिवक्ता सुशील पन्त, वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, टीकाराम भट्टराई, सतीशकृष्ण खरेललगायतले बहस गरेका थिए भने सरकारका तर्फबाट महान्यायाधिवक्ता रमेश बडालले बहस गरेका थिए।
अब बाँकी सरकारी वकिल र हितेन्द्रदेवका कानुन व्यवसायीले बहस गर्न बाँकी छ। सरकार र हितेन्द्र पक्षका कानुन व्यवसायीले बहस सकेपछि कुलमानका तर्फबाट जवाफी बहस हुनेछ। त्यसपछि सर्वोच्चले आदेश दिनेछ।





