एजेन्सी : युद्ध रोक्ने विषयमा साउदी अरेबियामा वार्ता जारी रहँदा रुसले युक्रेनमाथिको आक्रमण थप तीव्र पारेको छ।
रुसले उत्तर(पूर्वी युक्रेनका विभिन्न ठाउँलाई निशाना बनाएर गरेको आक्रमणमा थुप्रै मानिस घाइते भएका छन्।
सोमबार बिहान सुमी शहरमा भएका आक्रमणमा दर्जनौँ मानिस घाइते भएका थिए । त्यसपछि पनि रुसले आक्रमणलाई निरन्तरता दिइरहेको युक्रेनी अधिकारीहरूले जनाएका छन्। युक्रेनका विदेशमन्त्री आन्द्रैई सिबिहाले रुसले आक्रमण जारी राखेको भन्दै खोक्रो शान्तिवार्ताको आरोप लगाएका छन् ।
अमेरिका र रुसबीच साउदी अरबको रियादमा वार्ता सम्पन्न भएको छ, जसमा सन् २०२२ को अनाजसम्बन्धी सम्झौता कार्यान्वयनमा जोड दिइएको थियो । यो सम्झौतामा युक्रेनलाई ब्ल्याक सीबाट आफ्नो अनाज निर्यातको अनुमति दिइएको थियो।
यसको बदलामा रुसले अमेरिकासहित पश्चिमा देशहरुबाट लगाइएका प्रतिबन्ध फुकुवा चाहन्छ । रुस र अमेरिकाबीच रियादमा १२ घण्टासम्म वार्ता चलिरहँदा युक्रेनमा भने आक्रमण भइरहेको अधिकारीहरुले जनाएका छन्।





