काठमाडौं – देशभरका मालपोत कार्यालयले कात्तिकमा रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार ६४५ बराबरको राजश्व संकलन गरेको छ ।
घर जग्गाको कारोबारमा अपेक्षित रुपमा सुधार आउन नसकेको कारोबार तथा राजश्व संकलनको प्रवृत्तिले देखाएको छ ।
असोज महिनाको तुलनामा कात्तिकमा राजस्व संलनमा गिरावट आएको हो । असोजमा तीन अर्ब आठ करोड १२ लाख ४१ हजार ४८१ बराबरको राजश्व संकलन भएको थियो । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चाड पर्वलगायतका कारणले गत असोजको तुलनामा कात्तिकमा राजस्व संकलनमा कमी आएको हो ।
विभागका अनुसार, काठमाडौं उपत्यकाभित्रका नौ वटा मालपोत कार्यालयहरुमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले २४ करोड ५७ लाख ५४ हजार आठ सय ५८ बराबर राजस्व संकलन गरेको छ ।





