धनगढी । कर्मचारी सञ्चय कोषले आफ्नो ६३ औं वार्षिकोत्सव विविध कार्यक्रम गरेर मनाएको छ ।
सञ्चय कोषको धनगढी शाखाले खेलकुदसहित एक समारोहको आयोजना गरेर वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि रहेका सुदूरपश्चिम प्रदेशका मुख्य सचिव डा. हरिप्रसाद लम्सालले सञ्चयकोषलाई प्रविधिमैत्री बनाउन आग्रहसहित यसको पहुँच विस्तार गर्न सुझाव दिएका छन् ।
कर्मचारीको अवकाशपछि सञ्चय कोषले एकमुष्ट रुपमा सञ्चय कोष भुक्तानी दिने गरेको कर्मचारी सञ्चय कोष धनगढी शाखाका प्रमुख राजेन्द्र लामिछानेले बताए ।
नेपालमा पाँच लाख ५० हजार बचतकर्ताको छ खर्ब (नेपालको कुल ग्राहस्थ उत्पादनको १० प्रतिशत) रकम कर्मचारी सञ्चय कोषले परिचालन गरिरहेको जनाइएको छ ।
कर्मचारीको अवकाशपछिको जीवनलाई सहज बनाउने उद्देश्यका साथ नेपालमा २०१९ सालमा कर्मचारी सञ्चयकोषको स्थापना भएको थियो । धनगढीमा शाखा कार्यालय भने २०६१ सालमा स्थापना भएको हो । यो शाखाले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका कर्मचारीलाई सेवा प्रदान गर्दै आएको छ ।





