काठमाण्डौं – नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा दुईवटा बस खसेपछि हराएका यात्रुको खोजी गर्ने क्रममा तीन वटा शव भेटिएको छ ।
तीन मध्ये दुई वटा शव पहिरोले बगाएका बसका यात्रु रहेका पहिचान भएको र एक जनाको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिएका छन् ।
पहिचान खुल्नेमा सर्लाहीको बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणी बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषि पल साह रहेका छन् । साहको शव हिजो बिहान ११ बजे र माझीको शव बेलुका भेटिएको हो । माझीका बुबा र साहका दाजुले सनाखत गरेको प्रहरी जनाएको छ ।
मृत भेटिएका दुवै यात्रु काठमाण्डौंबाट गौरतर्फ जाँदै गरेको बसमा थिए । भारतीय नागरिकको शव दुर्घटनास्थलबाट झन्डै ५० किलोमिटर तल र नेपाली नागरिकको शव नवलपरासी पूर्वको गैँडाकोट–७ मा पर्ने नदी छेउमा भेटिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
सडकबाट नदीमा खस्दै गर्दा काठमाण्डौबाट गौर जाँदै गरेको बसका तीन जना यात्रु भने बाँच्न सफल भएका थिए । सुरक्षाकर्मीले अस्ति शुक्रवार दिनभरिको खोजीका क्रममा एउटा बसमा प्रयोग गरिएको पर्दा र केही कपडा मात्रै फेला पारेका थिए ।
हिजो तीन वटा शव भेटिएका हुन् । प्राप्त उपकरण, तालिमप्राप्त जनशक्ति लगायत आफूहरुको सबै समार्थ्य लगाएर खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन् । सुरक्षाकर्मीले हिजो पानी भित्र हेर्ने ड्रोन लगायत उपकरण पनि प्रयोग गरेका थिए । तर आफन्तले भने खोजी प्रभावकारी नभएको गुनासो गरिरहेका छन् ।





