काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत गुमाएपछि नयाँ सरकार गठनका लागि प्रक्रिया अगाडि बढ्ने भएको छ ।
प्रतिनिधि सभाको बैठकमा उहाँको पक्षमा ६३, विपक्षमा १९४ र तटस्थमा एक मत परेपछि प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् ।
संसद सचिवालयका प्रवक्ता एकराम गिरिले मतदानबाट प्राप्त नतिजासम्बन्धी पत्र तयार भइरहेको छ र सो पत्र आजै राष्ट्रपति कार्यालयमा पेश गरिने बताएका छन् ।
सो पत्र राष्ट्रपति कार्यालयमा पुगेपछि सम्भवत आज नै नयाँ सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गर्ने सम्भावना रहेको छ ।
राष्ट्रपति कार्यालयबाट नयाँ सरकार गठनका लागि प्रस्ताव आह्वान भएमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गरियोस् भनी बहुमत सांसदको हस्ताक्षर आजै राष्ट्रपति कार्यालयमा पेश गर्ने तयारी रहेको जानकारी नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बताएका छन् ।





